मत्ती २१: २ 23-२3:।।

23 येशू मन्दिरतर्फ जानुभयो। र उहाँले सिकाइरहनु भएको बेला, मुख्य पुजारीहरू र जन-साधारणका अगुवाहरू येशूकहाँ आए। तिनीहरूले येशूलाई भने, “हामीलाई भन्नुहोस्। यी कार्यहरू गर्न तपाईंको के अधिकार छ? यस्तो अधिकार तपाईंलाई कसले दियो?”

24 येशूले जवाफ दिनुभयो, “म पनि तिमीहरूलाई एउटा प्रश्न सोध्न चाहन्छु। यदि तिमीहरूले मलाई जवाफ दियौ भने, म कुन अधिकारले यी कामहरू गरीरहेछु भनी बताउनेछु। 25 मलाई भन: यूहन्नाको बप्तिस्मा परमेश्वरबाट वा मानिस कसबाट भयो?”

मुख्य पूजारीहरू र यहूदी नेताहरूले येशूको यो प्रश्न बारे बहस गरे। तिनीहरू आपसमा बात चीत गर्न थाले, “यदि हामीले यूहन्नाको बप्तिस्मा परमेश्वरबाटै भएको थियो, भन्यौ भने उहाँले भन्नु हुनेछ ‘त्यसो भए तिमीहरूले यूहन्नालाई किन विश्वास नगरेको?’ 26 यदि हामीहरूले ‘यो बप्तिस्मा मानिसबाटै भएको थियो,’ भन्यौ भने सबै मानिसहरू हामीहरूसँग रिसाउने छन्। हामी मानिसहरूबाट सावधान हुनुपर्छ किनभने तिनीहरू सबै यूहन्नालाई अगमवक्ता हो भनेर विश्वास गर्छन्।”

27 त्यसपछि तिनीहरूले येशूलाई जवाफ दिए, “यूहन्नालाई कहाँबाट त्यो अधिकार दिइयो हामी जान्दैनौ।”

तब येशूले भन्नुभयो, “त्यसो भए म पनि भन्ने छैन कि कुन अधिकारले म यी सब कार्यहरू गरिरहेछु।

येशूद्वारा दुइ जना पुत्रको उखान

28 “तिमीहरू यसको बारेमा के सोच्छौ? एकजना मानिसका दुइ छोराहरू थिए। त्यो मानिसले आफ्नो जेठा छोरालाई भन्यो, ‘छोरा, जाऊ र गएर आज दाखबरीमा काम गर।’

29 “छोराले जवाफ दियो, ‘म जाँदिन।’ तर केही समयपछि उसले आफ्नो विचार बद्ल्यो, अनि गयो।

30 “त्यसपछि बाबु अर्को छोराकहाँ गए र भने, ‘छोरा, जाऊ अनि आज मेरो दाखबरीमा काम गर।’ छोरोले जवाफ दियो, ‘हुन्छ, बाबु, म गएर काम गर्छु।’ तर त्यो छोरा गएन।

31 “अब यी दुइ छोराहरूमा कुन चाहिँले आफ्नो बाबुको आज्ञा पालन गर्यो?”

यहूदी नेताहरूले जवाफ दिए, “जेठा चाँहिले।”

येशूले तिनीहरूलाई भन्नुभयो, “म साँच्चो कुरा तिमीहरूलाई भन्दछु। महसूल उठाउनेहरू र वेश्याहरू खराब मानिसहरू हुन् भनी तिमीहरू ठान्दछौ। तर परमेश्वरको राज्यमा तिमीहरू भन्दा पहिले तिनीहरूले प्रवेश गर्न पाउनेछन्। 32 यूहन्ना सही जीवन बाँच्ने उपाय देखाउनलाई आएका थिए। तर तिमीहरूले यूहन्नालाई पटक्कै विश्वास गरेनौ। तर महसूल उठाउनेहरू र वेश्याहरूले यूहन्ना माथि विश्वास गरे। अनि महसूल उठाउनेहरू र वेश्याहरूले यूहन्नालाई विश्वास गरेको तिमीहरूले देखेका थियौ। तर अझै पनि तिमीहरूले उनलाई विश्वास गर्न मन गरेनौ।

परमेश्वरले आफ्ना पुत्रलाई पठाउँनुहुन्छ

33 “यो उखान सुन कुनै मानिसको जमीन थियो। उसले त्यो जमीनमा दाख लगायो। उसले दाखको जमीनको वरिपरि पर्खाल निर्माण गर्यो। अनि त्यसभित्र दाख पेल्ने कोलखनेको थियो। फेरि त्यो मानिसले एउटा मचान बनाचो। उसले आफ्नो खेत कोही किसानहरूलाई जिम्मा दिएर ऊ यात्रामा गयो। 34 केही समय पछि, फसल उठाउने समय भयो। अनि त्यस मानिसले आफ्नो हिस्सा ल्याउन पठायो।

35 “तर किसानहरूले ती नोकरहरूलाई समाते अनि एकजनालाई पिटे, अर्कोलाई मारिदिए अनि अर्कोलाई ढुङ्गाले हिर्काएर मारिदिए। 36 फेरि त्यो खेत-मालिकले किसानहरूकहाँ अरू नोकरहरूलाई पठायो। उसले पाहिलेभन्दा धेरै नोकरहरू पठाएको थियो। तर किसानहरूले तिनीहरूसँग पनि यस्तै नै व्यवहार गरे। 37 त्यसपछि उसले आफ्नै छोरालाई किसानहरूकहाँ पठायो। उसले भन्यो, ‘किसानहरूले मेरो छोरालाई आदर देखाउनेछन्।’

38 “तर किसानहरूले आपसमा यसो भने, ‘यो ता मालिकको छोरा हो। यो खेत उसको हुनेछ। हामीले यसलाई मार्यौ भने खेत हाम्रै हुनेछ।’ 39 अनि किसानहरूले छोरालाई समातेर, उसलाई खेत बाहिर मारेर फ्याँकिदिए।

40 “अब त्यो खेत को मालिक आएर ती किसानलाई के गर्ला?”

41 ती यहूदी पूजाहारीहरू र नेताहरूले भने, “उसले ती दुष्टहरूलाई अवश्य नै मार्नेछ। त्यसपछि उनले आफ्नो खेत अरू किसानहरूलाई कमाउन दिनेछन्। जसले फलको समयमा मालिकलाई उसको भाग बुझाउन ल्याउँछ उनीहरूलाई त्यो खेत कमाउन दिईनेछ।”

42 येशूले तिनीहरूलाई भन्नुभयो, “निश्चय नै तिमीहरूले यो धर्मशास्त्रमा पढेका छौ:

‘जुन ढुङ्गालाई डकर्मीहरूले रद्द गरे,
    त्यही ढुङ्गा मुख्य कुने ढुङ्गा बन्यो।
यो परमप्रभुले गर्नु भएको हो,
    र यो हाम्रो लागि अचम्मको हुनेछ।’

43 “त्यसैकारण म तिमीहरूलाई भन्दछु, परमेश्वरको राज्य तिमीहरूबाट खोसिनेछ। त्यस पछि परमेश्वरले यस्ता मानिसहरूलाई दिनु हुनेछ, जसले परमेश्वरले आफ्नो राज्यमा चाहनु भए अनुसारको काम उत्पन्न गर्नेछन्। 44 अनि जो कोही पनि त्यो ढुङ्गामाथि खस्नेछ ऊ टुक्रा टुक्रा बन्नेछ। यदि त्यो ढुङ्गा कसैमाथि खस्यो भने त्यसले त्यसलाई धूलोपिठो पार्नेछ।”

45 येशूले भन्नु भएको यो उखानलाई मुख्य पूजाहारीहरू र फरिसीहरूले सुने। येशूले तिनीहरूकै विषयमा बोल्दै हुनुहुन्छ भन्ने कुरा तिनीहरूले बुझे। 46 तिनीहरू येशूलाई पक्रने उपाय खोजीरहेका थिए। तर तिनीहरू मानिसहरूदेखि डराउँथे। किनभने मानिसहरूमा येशू अगमवक्ता हुन् भन्ने विश्वास थियो।

रात्री भोजनमा बोलाइएका मानिसहरूको दृष्टान्त

22 मानिसहरूलाई बुझाउनका निम्ति येशूले केही दृष्टान्तहरू भन्नुभयो। “स्वर्गका राज्य एउटा राजा जस्तै हो, जसले आफ्नो छोराको विवाहमा भोजनको व्यवस्था गर्छन्। राजाले केही मानिसहरूलाई भोजमा निम्तो गरेका थिए। जब भोज तयार भयो, राजाले आफ्ना नोकरहरूलाई ती मानिसहरूलाई बोलाउन पठाए। तर मानिसहरूले राजाको यस भोजमा उपास्थित हुन अस्वीकार गरे।

“तब राजाले अझ धेरै नोकरहरू पठाए। राजाले नोकरहरूलाई यसो भनेका थिए, ‘मैले निम्ताएका ती मानिसहरूलाई खाना तयार भयो भनेर भन्नु। मैले मेरा गोरूहरू अनि पुष्ट्याएका पशुहरू मारेकोछु। सबै कुरा तयारी छ। विवाहको भोजमा सामेल हुन आऊ।’

“नोकरहरूले ती मानिसहरूलाई भोजमा आउने आग्रह गरे। तर तिनीहरू नोकरहरूको कुरा सुन्न अस्वीकीर गरे। ती मानिसहरू आ-आफ्नै काममा लागे। एकजना आफ्नो खेतमा गए, अनि अर्को आफ्नो व्यापारतिर लागे। कसैले नोकरहरूलाई समातेर पीटे अनि तिनीहरूलाई मारिदिए। यो सुनेर राजा क्रोधित भए। राजाले आफ्नो सेना पठाए, ती हत्याराहरूलाई मारे अनि तिनीहरूको शहर जलाएर भष्म पारिदिए।

“त्यसपछि, राजाले आफ्ना नोकरहरूलाई भने, ‘विवाहको भोज तयारी छ। मैले ती मानिसहरूलाई बोलाएको हुँ, तर तिनीहरू यो भोजमा सामेल हुन योग्यको भएनन्। यसकारण तिमीहरू गल्लीका कुना कुनामा जाऊ अनि देखेकाहरू जतिलाई भोजमा सामेल हुन निम्त्याएर ल्याऊ। तिनीहरूलाई मेरो भोजमा आऊ भनिदेऊ।’ 10 अनि नोकरहरू गल्लीहरूतिर गए। तिनीहरूले भेटेसम्म सबैलाई भेला पारे। तिनीहरूले राम्रा मानिसहरू सबैलाइ भोजमा सामेल गराउन लगे। त्यो ठाउँ मानिसै-मानिसको भीडले भरियो।

11 “त्यसपछि ती खाँदैगरेका मानिसहरूलाई हेर्न भनी राजा आए। कुनै एकजनालाई विवाहको पोशाकमा नभएको राजाले भेट्टाए। 12 राजाले भने, ‘मित्र, तिमी यहाँ भित्र कसरी आयौ? विवाहको लागि लाउने पोशाक तिमीले लगाएका छैनौ।’ तर त्यो मानिस केही बोलेन। 13 अनि राजाले आफ्ना नोकहरूलाई भने, ‘त्यसका हात खुट्टा बाँधेर त्यसलाई अँध्यारोमा फलिदेऊ जहाँ मानिसहरू दु:खले रूवाबसी गर्दै र दाह्रा किट्दै बस्छन्।’

14 “हो धेरै मानिसहरू बोलाइएका हुन्छन्। तर चुनिएका थोरै मात्र छन्।”

केही यहूदी नेताहरू येशूलाई झुक्याउन खोज्छन्

15 तब फरिसीहरूले त्यो स्थान छाडे जहाँ येशूले सिकाँउदै हुनुहुन्थ्यो। येशूलाई प्रश्नहरूको जालमा पार्न तिनीहरू सहमत भए। 16 फरिसीहरूले येशूलाई फँसाउन केही मानिसहरू पठाए। तिनीहरूले केही आफ्नै मानिसहरू र केही हेरोदी दलका मानिसहरूलाई पठाए। ती मानिसहरूले भने, “गुरूज्यू, तपाईं अति इमान्दार हुनूहुन्छ भनेर हामी जान्दछौ। हामी जान्दछौं तपाईंले परमेश्वरको मार्ग बारे ठीकसित सिकाउनुहुन्छ। तपाईं कसैसित डराउनु हुन्न। तपाईंको अधि सबै मानिसहरू समान छन्। यसर्थ हामीलाई तपाईंका धारणा भन्नु होस्। 17 सिजरलाई महसूल तिर्नु उचित हो कि होइन?”

18 तर ती मानिसहरूले नराम्रो जालसाजी गर्दैछन् भनेर येशूले बुझीहाल्नुभयो। अनि उहाँले भन्नुभयो, “तिमीहरू कपटीहरू हौ। केही झूटो निहुँमा तिमीहरू मलाई फँसाउन चाहन्छौ? 19 महसूल तिर्नमा उपयोग गरीने सिक्का मलाई देखाऊ।” ती मानिसहरूले येशूलाई एक चाँदीको सिक्का देखाए। 20 येशूले फेरि भन्नुभयो, “सिक्कामा कसको चित्र छ? अनि कसको नाम त्यहाँ अंकित छ।”

21 ती मानिसहरूले जवाफ दिए, “यो सिजरको चित्र हो र यसमा सिजरको नाम अंकित छ।”

येशूले फेरि भन्नुभयो, “जो सिजरको हो त्यो सिजरलाई देऊ र जो परमेश्वरको परमेश्वरलाई देऊ।”

22 ती मानिसहरूले येशूले भन्नुभएको कुरा सुने, र तिनीहरू छक्क परे। अनि येशूलाई त्यही छोडेर तिनीहरू गए।

सदुकीहरू येशूलाई फँसाउन चाहन्छन्

23 त्यही दिन केही सदुकीहरू येशूकहाँ आए। सदुकीहरू विश्वास गर्थे कि कुनै मानिस मृत्युबाट बौरी उठ्ने छैन। सदुकीहरूले येशूलाई एउटा प्रश्न गरे; 24 तिनीहरूले भने, “गुरूज्यू, मोशाले भने अनुसार कुनै विवाहित पुरूष बालबच्चा नभईकन मर्यो भने उसको भाइले आफ्ना दाज्यूका निम्ति सन्तानहरू जन्माउन त्यस विधवा आइमाईलाई विवाह गर्नसक्छ। 25 हामी बीच सातजना दाज्यू-भाइहरू थिए। जेठाले विवाह गर्यो र मर्यो। उसको कुनै बालबच्चा थिएन। यसर्थ उसको भाइले विधवी भाउज्यूलाई विवाह गर्यो। 26 त्यसपछि त्यो दोस्रो भाइ पनि मर्यो। त्यस्तै घट्ना तेस्रो भाइसँग पनि घट्‌यो र त्यस्तै अरू दाज्यू-भाइहरूसँग गर्दै सात दाज्यू-भाइसम्म घट्यो। 27 तिनीहरू सबै मरेपछि त्यो आईमाई पनि मरी। 28 तर ती सातैजना दाज्यू-भाइहरूले त्यस आईमाईलाई विवाह गरेका थिए। तब पुनरूत्थनामा त्यो स्त्रीको पति कुन चाही हुनेछ?”

29 येशूले जवाफ दिनुभयो, “तिमीहरू योकुरा बुझ्दैनौ किनभने धर्मशास्त्रमा के लेखेको छ त्यो तिमीहरू जान्दैनौ। परमेश्वरको शक्तिको विषयमा पनि तिमीहरू केही जान्दैनौ। 30 त्यसबेला जब मानिसहरू मृत्युबाट बौरिउठ्छन् त्यहाँ विवाहको प्रश्न नै आँउदैन। मानिसहरू त्यहाँ एक-अर्का संग विवाह गर्ने छैनन्। सबै मानिसहरू स्वर्गका स्वर्गदूतहरू झैं हुनेछन्। 31 यसकारण पुनरूत्थानको विषयमा परमेश्वरले तिमीहरूलाई के भन्नु भएको छ त्यो पढेका छैनौ। 32 परमेश्वरले भन्नुभएको छ, ‘म अब्राहामको परमेश्वर, इसहाकको परमेश्वर, अनि याकूब का परमेश्वर हुँ।’ यसको मतलब परमेश्वर मृत मानिसहरूका परमेश्वर हुनुहुन्न तर जिउँदा मानिसहरूको परमेश्वर हुनुहुन्छ।”

33 मानिसहरूले सुने र येशूको शिक्षामा तिनीहरू छक्क परे।

सबैभन्दा ठूले आज्ञा कुन हो?

34 येशूले सदुकीहरूदलाई यसरी जवाफ दिएर तिनीहरूलाई चुप बनाई दिनू भएको सुनेर फरिसीहरू जम्मा भए। 35 एकजना फरिसी मोशाको व्यवस्था प्रति निकै ज्ञान भएको थियो। त्यो फरिसीले येशूलाई परीक्षा गर्ने इच्छा गर्यो। 36 त्यस फरिसीले येशूलाई सोध्यो, “गुरूज्यू, व्यवस्थामा सबैभन्दा ठूलो आज्ञा कुन हो?”

37 येशूले जवाफ दिनुभयो, “‘तिमीले आफ्ना परमप्रभु परमेश्वरलाई प्रेम गर्नुपर्छ। आफ्नो सम्पूर्ण हृदयदेखि, सम्पूर्ण आत्मादेखि र सम्पूर्ण मनदेखि प्रेम गर्नुपर्छ।’ 38 यहीनै पहिलो र सबै भन्दा महान आज्ञा हो। 39 दोस्रो आज्ञा पहिलो जस्तै छ ‘आफूलाई जस्तै अरू मानिसलाई पनि प्रेम गर्नु।’ 40 अगमवक्ताहरूका सबै व्यवस्था र रचनाहरू यिनै दुइ आज्ञाहरूमा आधारित छन्।”

फरिसीहरूलाई येशूको प्रश्न

41 जब फरिसीहरू त्यहाँ भेला भईरहेका थिए, येशूले तिनीहरूलाई एउटा प्रश्न गर्नुभयो, 42 “ख्रीष्टको विषयमा तिमीहरूको के धारणा छ? उहाँ कसको पुत्र हुनुहुन्छ।”

फरिसीहरूले जवाफ दिए, “ख्रीष्ट दाऊदका पुत्र हुन्।”

43 त्यसपछि येशूले फरिसीहरूलाई भन्नुभयो, “यदि त्यसो भए दाउदले उहाँलाई किन ‘परमप्रभु’ भने? दाऊद पवित्र आत्माको शक्तिद्वारा बोलिरहेका थिए। दाऊदले भने,

44 ‘प्रभुले मेरो प्रभुलाई भन्नुभयो:
मेरो दाहिनेपटि बस,
    अनि म तिम्रो शत्रुहरूलाई तिम्रा वशमा राख्नेछु।’

45 दाऊदले ख्रीष्टलाई ‘परमप्रभु’ भन्दछन्। त्यसो भए कसरी उनि दादको पुत्र हुनसक्छन्?”

46 कुनै पनि फरिसीहरूले येशूको यो प्रश्नको जवाफ दिन सकेनन्। अनि त्यसदिनदेखि कसैले पनि येशूलाई अझ बढ़ता प्रश्नहरू गर्ने साहस गरेनन्।

येशूद्वारा धार्मिक गुरूहरूको आलोचना

23 तब येशूले मानिसहरू र आफ्ना चेलाहरूसँग कुराकानी गर्नुभयो। येशूले भन्नुभयो, “कानूनका शास्त्रीहरू र फरिसीहरूलाई मोशाको नियमको विषयमा शिक्षादिने अधिकार छ। यसर्थ तिनीहरूले सिकाएको कुरा पालन गर्नु पर्छ। तिनीहरूले अह्राएका कामहरू गर्नु। तर तिनीहरूको जीवनशैलीको अनुशरण नगर्नु। तिनीहरू केही गर्न भनि तिमीहरूलाई अह्राउँछन् तर आफू चाँहि केही गर्देनन्। मानिसहरूले पालन गर्नु अति कठीन पर्ने नियमहरू तिनीहरू बनाउँछन्। ती नियमहरू पालन गर्न तिनीहरू अरूलाई करमा पादर्छन्। तर तिनीहरू आफैं चाँहि कुनै नियम पालन गर्ने चेष्टा पनि गर्दैनन्।

“तिनीहरू मानिसहरूलाई देखाउनका निम्ति राम्रा कुरा गर्दछन्। तिनीहरू आफ्ना धर्मशास्त्रहरूका विशेष सन्दूक राख्छन्। तिनीहरू सन्दूकहरू ठूला-ठूला बनाउँछन्। अनि मानिसहरूले देख्न सकुन भनेर तिनीहरू आफ्ना प्रार्थनामा लगाउने वस्त्रहरू पनि लामा-लामा बनाउँछन्। ती कानुनका शास्त्रीहरू र फरिसीहरू उत्सवहरूमा विशेष आसनहरू ओगट्न रूचाउँछन्। त्यसरी नै सभाघरहरूमा पनि मुख्य आसनहरू प्राप्त गर्न चाहन्छन्। बजारहरूमा पनि तिनीहरू मानिसहरूबाट सम्मान पाउने इच्छा गर्छन्। अनि तिनीहरूलाई ‘गुरू’ भनी सम्बोधन गरेको सुन्न चाहन्छन्।

“तर तिमीहरूको ‘गुरू’ हुँदैन। तिनीहरू सबै दाज्यूभाइहरू अनि दिदी-बहीनीहरू हौ। तिमीहरूको एक मात्र ‘गुरू’ हुनुहुन्छ। अनि यस पृथ्वीमा कसैले पनि कसैलाई ‘पिता’ भनी सम्बोधन नगर्नु। तिमीहरूको एक मात्र पिता हुनुहुन्छ। उहाँ स्वर्गमा हुनुहुन्छ। 10 अनि तिमीहरूले ‘मालिक’ भन्नु हुँदैन। तिमीहरूको एकमात्र मालिक हुनुहुन्छ, ख्रीष्ट। 11 तिमीहरूमाझ जो सबै भन्दा महान छ, ऊ तिमीहरूको सेवक हुनुपर्छ। 12 जसले आफूलाई ठूलो देखाउँछ उसले आफूलाई नम्र तुल्याउनु पर्छ।

13 “शास्त्रीहरू र फरिसीहरूका निम्ति यो अति नराम्रो हुनेछ। तिमीहरू कपटीहरू हौ। तिमीहरू स्वर्गको राज्यमा प्रेवश गर्न चाहने मानिसहरूको ढोका थुन्छौ। तिमीहरू आफैं पनि प्रवेश गर्दैनौ, अनि प्रवेश गर्न इच्छा गर्ने अरूहरूलाई पनि बाधा दिन्छौ। 14 [a]

15 “तिमी शास्त्रीहरू र फरिसीहरूका निम्ति यो खराब हुनेछ। तिमीहरू कपटीहरू हौ। तिमीहरू एक मानिसलाई आफ्नो मतमा ल्याउनकालागि समुद्रहरू पार गर्दै विभिन्न देशहरू चाहार्छौ यस्तो कोही मानिसहरू भेट्टायो भने तिनीहरू त्यसलाई आफू भन्दा दोबर खराब तुल्याउँछौ। अनि तिमीहरू यति हुन्छौ कि तिमीहरू नरकको योग्य हुन्छौ।

16 “यी शास्त्रीहरू र फरिसीहरूलाई धिक्कार। तिमीहरू अन्धो छौ अनि तिमीहरू अरूलाई डोर्याउँछौ। तिमीहरू भन्दछौ, ‘यदि कसैले मन्दिरको नाममा शपथ लियो त्यो अर्थहीन हुन्छ। तर यदि कसैले मन्दिरको सुन छोएर शपथ गर्यो भने, उसले त्यो शपथ पूरा गर्नुपर्छ’ 17 तिमीहरू अन्धो-मूर्खहरू हौ! सुन ठूलो हो की सुनलाई पवित्र पार्ने मन्दिर ठूलो?

18 “अनि तिमीहरू भन्दछौ, ‘यदि कसैले वेदी छोएर शपथ लियो भने त्यो केही होइन। तर यदि कसैले बेदीमाथिको भेटी छोएर शपथ लियो भने त्यो आफ्नो कसमको ऋणी हुन्छ।’ 19 तिमीहरू अन्धो हौ। भेटी कि भेटीलाई पवित्र तुल्याउने वेदी ठूलो हो? 20 जसले प्रतिज्ञा गर्नलाई वेदीको प्रयोग गर्छ उसले वेदी र त्यसमा भएका भेटी दुवै चीजलाई छोएर प्रतिज्ञा गरेको हुन्छ। 21 अनि जसले प्रतिज्ञा गर्नलाई मन्दिरको प्रयोग गर्छ उसले मन्दिर र मन्दिरमा बस्ने ‘एकलाई’ छोएर शपथ खाएको हुन्छ। 22 अनि जसले स्वर्गको नाउँमा शपथ लिन्छ उसले परमेश्वरको सिंहासन अनि त्यस सिंहासनमा बस्नेलाई छोएर शपथ लिएको हुनेछ।

23 “शास्त्रीहरू र फरिसीहरूलाई धिक्कार। तिमीहरू कपटीहरू हौ। आफूमा भएको हरेक चीजको, पुदीना, सूप र जीरा को दशांश भागमा एक भाग मात्र परमेश्वरलाई दिन्छौ। तर तिमीहरू असल हुने दया देखाउने र इमान्दार हुने जस्ता व्यवस्थाका प्रमुख कुराहरू लत्याउँछौ। तिमीहरूले ती कुराहरू पनि नलत्याइकन यी कामहरू गर्नुपर्ने हो। 24 तिमीहरू अन्धा छौ तर अरूलाई अगुवाइ गर्ने कोशिश गर्छौ। तिमीहरू भुसुना चाँहि चाल्दछौ तर ऊँटलाई चाँहि निल्दछौ। तिमीहरू त्यस्तै छौ।

25 “शास्त्रीहरू र फरिसीहरूलाई धिक्कार हो। तिमीहरू कपटीहरू हौ। तिमीहरू आफ्नो थाल र बटुकोलाई बाहिरबाट मात्र धुन्छौ। तर भित्र भने अरूलाई ठगेर हत्याएका बस्तुहरू अनि तिमीहरू स्वयंलाई खुशी पार्ने चीजहरूले भरिएका हुन्छन्। 26 ए अन्धा फारिसीहरू पहिला प्यालाको भित्रपटि सफा गर र त्यसलाई चोखो बनाऊ। तब प्यालाको बाहिरी भाग पनि चोखो हुनेछ।

27 “व्यवस्थाका शास्त्रीहरू र फरिसीहरूलाई धिक्कार। तिमीहरू कपटी हौ। तिमीहरू चुना पोतेको चिहानहरू जस्ता छौ, जो बाहिरबाट सुन्दर देखिन्छन। तर भित्रपट्टि मरेको मानिहरूको हड्डीहरू हुन्छन्। 28 तिमीहरू पनि त्यस्तै हौ। बाहिरबाट तिमीहरूलाई राम्रै देखिन्छ। तर भित्र तिमीहरूमा छल र कपटले भरिएको छ।

29 “शास्त्रीहरू र फरिसीहरूलाई धिक्कार। तिमीहरू कपटीहरू हौ। अघिका अगमवक्ताहरूको लागी तिमीहरूले चिहान बनाउँछौ। असल मानिसहरूको चिहानहरू सिंगार्छौ। 30 अनि तिमीहरू भन्दछौ, ‘यदि हामी हाम्रा पूर्खाहरूका समयमा हुँदो हो, ता ती अगमवक्ताहरूलाई मार्न हामी उनीहरूलाई सहयोग गर्ने थिएनौ।’ 31 यसरी अगमवक्ताहरू मार्नेका सन्तान हामी हौं भन्ने स्वीकार आफैं तिमीहरू दिन्छौ। 32 यसकारण जाऊ अनि आफ्ना पुर्खाहरूले शुरू गरेका पापकर्म पुरा गर।

33 “तिमीहरू सर्पहरू हौ। तिमीहरू विषालु सर्पका संन्तानहरू हौ। परमेश्वरदेखि तिमीहरू उम्कन सक्दैनौ। तिमीहरू सबै दोषी पाइनेछौ अनि नरकमा जानेछौ। 34 यसकारण म तिमीहरूलाई भन्दछु: म तिमीहरूकोलागि अगमवक्ताहरू बुद्धिमान मानिसहरू र शास्त्रीहरू पठाउँछु। यी मध्ये कतिपयलाई तिमीहरूले मार्नेछौ। कसैलाई झुण्डयाउनेछौ। कसैलाई तिम्रा सभाघरमा कोर्रा लाउनेछौ अनि एउटा शहर देखि अर्को शहरसम्म तिनीहरूलाई लघार्छौ।

35 “अनि पृथ्वीमा मारिएका सबै असल मानिसहरूको रगतको निम्ति तिमीहरूलाई दोष्याइँनेछ। हाबिल जस्ता राम्रा मानिसको रगतका निम्ति अनि मन्दिर र वेदीको माझमा मारिएको बेरेक्याहको छोरो जकरियाको रगतको निम्ति यस पृथ्वीमा हाबिल देखि जकरियाको समयसम्म मारिएका सबै राम्रा मानिसहरूको रगतको निम्ति तिमीहरूनै दोषी ठहरिनेछौ। 36 म तिमीहरूलाई साँच्चो भन्दछु। यी सबै कुरा तिमीहरू नै अहिले बाँचिरहेका मानिसहरूमाथि आइलाग्नेछ।

येशूद्वारा यरूशलेमका मानिसहरूलाई चेताउनी

37 “हे यरूशलेम, यरूशलेम! तिमीहरू अगमवक्ताहरूलाई मार्छौ अनि तिमीहरूकहाँ पठाइएका संदेशवाहकहरूलाई ढुङ्गाहान्छौ। धेरैपल्ट मैले तिम्रा मानिसहरूलाई मद्दत गर्न चाहेको हुँ। जसरी पोथीले आफ्ना चल्लाहरूलाई पखेटामुनि बटुल्छ त्यसरीनै मैले तिम्रा मानिसहरूलाई बटुल्न चाहेको हुँ। तर तिमीहरूले मलाई त्यसो गर्न दिएनौ। 38 तब तिमीहरूको घर पनि उजाड बनाइनेछ। 39 म भन्दछु, ‘अब उप्रान्त परमप्रभुको नाउँमा आउने मानिस धन्यका हुन्,’ भन्दै उसलाई स्वागत नगरून्जेल सम्म तिमीहरूले मलाई देख्नेछैनौ।”

मत्ती २१: २ 23-२3:।।