बाबेलको धरहरा

 उत्पत्ति अध्याय ११

यतिबेला समस्त पृथ्वीमा एउटै भाषा थियो अनि थोरै शब्दहरू थिए। जब मानिसहरू पूर्वबाट बसाइँ सर्न थाले शिनार देशमा तिनीहरूले समतल भूमि भेटे अनि तिनीहरूले त्यहाँ बसोबास शुरू गरे। तिनीहरू आपसमा कुरा गरे, “हामीले ईंटा बनाउनु पर्छ अनि त्यसलाई कडा बनाउनको लागि आगोमा पोल्नु पर्छ।” यसर्थ तिनीहरूको घर बनाउदा ढुङ्गाको सट्टामा ईंटालाई प्रयोग गरे अनि ईंटा जोड्न माटोको सट्टामा मसला प्रयोग गरे।

तिनीहरूले भने, “आऊ, हामी आफ्नो निम्ति एउटा शहर बनाऔं अनि एउटा धरहरा बनाऔं जसको शिखर स्वर्ग पुग्छ। हामी प्रख्यात हुनु पर्छ र यसले हामीलाई सँगठित राख्नेछ। नत्र हामी संसारभरि छरपष्ट हुनेछौं।”

परमप्रभु मानिसहरूले बनाउदै गरेको किल्ला र शहर हेर्न तल आउनु भयो। तब परमप्रभुले भन्नुभयो, “हेर, तिनीहरू मिलेर एक भएका छन्, तिनीहरूले एउटै भाषा बोल्दैछन्। तिनीहरूले के गर्ने छन् यो एउटा शुरू मात्र हो, अब चाँडै तिनीहरूले के गर्न खोज्छन् त्यही गर्न सक्ने हुन्छन्। यसर्थ हामी तिनीहरूको माझमा जाऔं र तिनीहरूको भाषामा खलबल पारिदिऔं जसले गर्दा तिनीहरू एक-अर्काले बोलेको भाषा बुझ्न नसकुन्।”

यसरी परमप्रभुले तिनीहरूलाई पृथ्वीको सम्पूर्ण सतहभरि छरपष्ट पारिदिनु भयो। यसर्थ उहाँले भवन निर्माणको काम रोकिदिनु भयो। त्यसकारण यो शहरको नाउँ बाबेल राखियो। यसप्रकार त्यस ठाउँबाट परमप्रभुले मानिसहरूलाई पृथ्वीको सतहभरि छरपष्ट पार्नु भएको थियो।

उत्पत्ति 11