डाँडाको उपदेश

 येशूले त्यहाँ भएका धेरै मानिसहरूलाई देख्नु भयो। येशू डाँडामा उक्लेर बस्नुभयो। उहाँका चेलाहरू पनि उहाँको नजिक आएका थिए। उहाँले तिनीहरूलाई सिकाउन थाल्नुभयो। उहाँले भन्नुभयो,

“ती मानिसहरू धन्य हुन् जसले आफूलाई आत्मिक रूपले दरिद्र छौं भनी बुझेका छन्,
    किनभने स्वर्गको राज्य तिनीहरूकै हो।
अहिले शोक गर्नेहरू धन्यकाहुन्,
    किनभने परमेश्वरले तिनीहरूलाई सान्तवना दिनुहुनेछ।
धन्य नम्र हुनेहरू,
    किनभने तिनीहरूले पृथ्वीको अधिकार पाउनेछन्।
धन्य धार्मिकताका निम्ति भोकाउने र तिर्खाउनेहरू,
    किनभने परमेश्वरले तिनीहरूलाई तृप्त पार्नु हुनेछ।
धन्य अरू प्रति दया देखाउनेहरू,
    किनभने तिनीहरूले दया पाउनेछन्।
धन्य हृदयमा शुद्ध हुनेहरू,
    किनभने तिनीहरूले परमेश्वरलाई देख्नेछन्।
धन्य मेल-मिलाप गराउनेहरू,
    किनभने परमेश्वरले तिनीहरूलाई आफ्ना छोरा-छोरी भन्नुहुनेछ।
10 धन्य धार्मिकताको निम्ति सताइएकाहरू,
    किनभने स्वर्गका राज्य तिनीहरूकै हुनेछ।

11 “धन्य हौ तिमीहरू जब मानिसहरूले तिमीहरूको निन्दा गर्नेछन् र खेदो गर्नेछन्। झूटो बोलेर हरेक किसिमका दुष्ट कुरा गरेर तिमीहरूको खेदो गर्नेछन्, किनभने तिमीहरू मेरा चेलाहरू हौ। 12 सुखी र खुशी बन। स्वर्गमा तिमीहरूलाई ठूलो इनाम मिल्नेछ। किनभने तिमीहरूका अघिका अगमवक्तहरूलाई तिनीहरूले यसरीनै व्यवहार गरेका थिए।

तिमीहरू पृथ्वीका नून र ज्योति जस्तै हौ

13 “तिमीहरू पृथ्वीका नून हौ। यदि नूनको स्वाद नै छैन भने, फेरि त्यसलाई नुनिलो के-ले पार्ने र? यदि नूनमा नूनको स्वाद नै छैन भने त्यो ता-फालिन र मानिसका खुट्टाले कुल्चनबाहेक अरू केही कामको हुँदैन।

14 “तिमीहरू संसारका ज्योति हौ जसले संसारलाई उज्यालो पार्छ। डाँडामा बसालिएको नगर अदृष्य रहन सक्तैन। 15 त्यसरीनै मानिसहरूले बत्ती बालेर पाथीमुनि राख्दैनन्। त्यसको सट्टामा तिनीहरूले त्यसलाई सामदानमा राख्छन्। यसरी घरमा भएका सबै मानिसहरूले उज्यालो पाउने छन्। 16 त्यसै गिरी, अरूका निम्ति तिमीहरू पनि उज्यालो बनिदिनु पर्छ। तिमीहरूले गरेका सुकर्महरू मानिहरूले देख्नेछन् र स्वर्गमा बस्नु हुने तिमीहरूका पिताका महिमा गर्नेछन्।

येशू अनि पुरानो नियमको लेखाई

17 “म मोशाको व्यवस्था अथवा अगमवक्ताहरूद्वारा लेखिएको अगमवाणी रद्द गर्न आएको भन्ने नसम्झ, रद्द गर्न होइन, तर पूरा गर्न म आएको हुँ। 18 म साँच्चो भन्दछु, जबसम्म स्वर्ग र पृथ्वी बितेर जाँदैन, व्यवस्थाको हरेक कुरा पूरा हुनेछ सबै कुरा पूरा नहोउन्जेल कुनै किसिमले व्यवस्थाबाट एउटा मात्रा वा एउटा बिन्दु पनि हटाइने छैन।

19 “हरेक मानिसले प्रत्येक आदेश पालन गर्नैपर्छ चाहे त्यो आदेश सामान्य नै किन नहोस्। यदि कुनै मानिसले एउटा पनि आदेश पालन गर्न चाँहदैन अनि अरूलाई पनि आदेश पालन नगर्नु भनी सिकाउँछ भने स्वर्गको राज्यमा त्यो सबैभन्दा तुच्छ ठहरिनेछ। तर जसले आदेश पालन गर्छ अनि अरूलाई पनि आदेश पालन गर्न सिकाउँछ, त्यो नै स्वर्गको राज्यमा ठूलो कहलाइनेछ। 20 म भन्दछु धर्मशास्त्री र फरिसीहरूको भन्दा तिमीहरूले राम्रो काम गर्नु पर्छ। यदि तिमीहरूले तिमीहरूलाई उछिन्न सकेनौ भने तिमीहरूले स्वर्गको राज्यमा प्रवेश गर्न सक्नेछैनौ।

येशूद्वारा रीस बारे शिक्षा

21 “तिमीहरूले सुनेका छौ, प्राचीन समयकाहरूलाई यसो भनिएको थियो, ‘कसैको हत्या नगर्। जसले हत्या गर्छ, त्यो व्यवस्था समक्ष उभिनु पर्नेछ।’ 22 तर म तिमीहरूलाई भन्दछु, कोही अन्य मानिससित नरिसाओ। सबैजना तिम्रा भाइ हुन्। यदि तिमी अरू मानिससंग रिसाउँछौ भने, तिमी इन्साफको निम्ति खड़ा हुनु पर्नेछ। यदि तिमीले अर्को मानिससित नराम्रा कुरा गर्यौ भने तिमी यहूदीहरूको महासभाको समक्ष उभिनु पर्नेछ। यदि अर्को मानिसलाई ‘मुर्ख’ भन्छौ भने तिमी नरकको आगोमा फालिइनु पर्नेछ।

23 “जब तिमीले परमेश्वरलाई भेटी चढाउँछौ त्यसबेला तिमी अरूहरूलाई पनि सम्झ। यदि तिमीले वेदीमा भेटी चढाउँदा तिम्रो विरुद्धमा तिम्रो भाइको हृदयमा केही छ भन्ने सम्झ्यौ भने, 24 त्यही वेदीको छेउमा तिम्रो भेटी छोड। पहिला तिमी फर्केर जाऊ अनि त्यो मानिससित मिलाप गर। त्यसपछि आफ्नो भेटी वेदीमा चढाऊ।

25 “यदि तिम्रो विरोधीले तिमीलाई न्यायालयमा लाँदैछ भने उसित मिलाप गरिहाल। न्यायलय पुग्नु अघिनै तिमीले यसो गर। यदि तिमी उसको साथी बन्न असफल भयौ भने उसले तिमीलाई न्यायाधीशको हातमा सुम्पिदेला, न्यायाधीशले तिमीलाई प्रहरीको हातमा सुम्पिदेलान् अनि तिमीलाई झ्यालखानामा थुनिदिनेछ। 26 म तिमीलाई भन्दछु कि तिमीले ऋणको अन्तिम पैसा नतिरुन्जेल तिमी त्यहाँबाट कुनै तरिकाले उम्कने छैनौ।

मत्ती 5

येशूद्वारा व्यभिचार बारे शिक्षा

27 “तिमीहरूले यसो भनेको सुनेकाछौ, ‘व्यभिचारको पापबाट अलग बस।’ 28 तर म तिमीहरूलाई भन्दछु, जसले स्त्रीलाई खराब इच्छाले हेर्दछ, त्यसले अघिबाटै उसित त्यसको हृदयमा व्यभिचार गरिसकेको हुन्छ। 29 यदि तिम्रो दाहिने आँखाले तिमीलाई बाधा पुर्याउँछ भने, त्यसलाई निकालेर फालिदेऊ। किनभने तिम्रो सम्पूर्ण शरीर नरकमा पर्नु भन्दा बरु तिम्रा अङ्गहरूमध्ये एउटा नष्ट हुनु तिम्रो निम्ति हितकारी हुनेछ। 30 यदि तिम्रो दाहिने हातले तिमीलाई पाप गराउँछ भने त्यसलाई काटेर फालिदेऊ। किनभने तिम्रो सम्पूर्ण शरीर नरकमा जानु भन्दा बरू तिम्रो अङ्गहरूमध्ये एउटा नष्ट हुनु तिम्रो निम्ति हितकारी हुनेछ।

येशूद्वारा सम्बन्ध बिच्छेद शिक्षा

31 “यसलाई यसप्रकारले भनिएको छ, ‘जसले आफ्नी पत्नीलाई त्याग गर्ला, त्यसले उसलाई त्यागपत्र लेखी देओस्।’ 32 तर म तिमीहरूलाई भन्दछु, जसले आफ्नी पत्नीलाई व्यभिचारको कारणबाहेक अन्य कारणले त्याग गर्ला, उसलाई त्यसले व्यभिचारिणी तुल्याउँछ, र जसले त्याग गरिएकोसित विवाह गर्ला, त्यसले पनि व्यभिचार गर्नेछ।

येशूद्वारा शपथ बारे शिक्षा

33 “फेरि तिमीहरूले सुनेकाछौ, कि हाम्रा प्राचीन समयका पुर्खाहरूलाई यसो भनिएको थियो, ‘जब तिमी शपथ खान्छौ, त्यो प्रतिज्ञा नतोड। परमेश्वरको निम्ति आफ्नो प्रतिज्ञा पूरा गर।’[a] 34 तर म तिमीहरूलाई भन्दछु, स्वर्गको नाउँमा कसम वा प्रतिज्ञा खाँदै नखाऊ, किनभने स्वर्ग परमेश्वरको सिंहासन हो। 35 पृथ्वीको नाममा पनि कसम नखाऊ, किनभने पृथ्वी परमेश्वरको पाउदान हो। यरूशलेमको नाउँमा कसम नखाऊ, किनभने त्यो महाराजाको शहर हो। 36 अनि आफ्नो शिरको कसम पनि नखाऊ, किनभने तिमी आफ्नो शिरको एउटा केशलाई पनि सेतो वा कालो तुल्याउन सक्दैनौ। 37 यदि तिमी ‘हो’ भने ‘हो’ भन ‘होइन’ भने ‘होइन’ भन। यस भन्दा बढ्ता चाहिं दुष्ट-तर्फबाट भएको हो।

येशूद्वारा बद्ला लिने बारे शिक्षा

38 “तिमीहरूले सुनेकाछौ, यसो भनिएको थियो, ‘आँखाको बदला आँखा, र दाँतको बद्ला दाँत।’ 39 तर म तिमीहरूलाई भन्दछु, दुष्टको सामना नगर्। यदि कसैले तिम्रो दाहिने गालामा चट्काइदियो भने त्यसलाई देब्रे गाला पनि फर्काइदेउ। 40 यदि कसैले मुद्दा चलाएर तिम्रो दौरा लीने दाबी गर्छ भने, त्यसलाई तिम्रो खाष्टो पनि दिइहाल। 41 यदि कसैले तिमीलाई एक माइलसम्म जबरजस्त हिंड्न लगाउँछ भने उसित दुइमाइलसम्म जाऊ। 42 यदि कसैले तिमीसित केही माग्छ भने त्यो दिइहाल। कुनै व्यक्तिले कर्जा लिन चाहेमा पनि केही दिन अस्वीकार नगर।

सबैलाई प्रेम गर

43 “तिमीहरूले यसो भनिएको सुनेकाछौ, ‘तिम्रो छिमेकीलाई प्रेम गर र तिम्रो शत्रुलाई घृणा गर।’ 44 तर म तिमीहरूलाई भन्दछु, आफ्ना शत्रुहरूलाई प्रेम गर, तिमीहरूलाई खेदो गर्नेहरूको निम्ति प्रार्थना गर। 45 यदि तिमीले यसो गर्यौ भने तिमी स्वर्गको पिताका साँच्चो पुत्र हुनेछौ। किनभने उहाँले दुष्ट र सज्जन दुवैका निम्ति घाम लगाइदिनुहुन्छ। अनि धर्मी र अधर्मीहरूको निम्ति वृष्टि पठाइदिनुहुन्छ। 46 यदि तिमीहरूसँग प्रेम गर्नेहरूलाई मात्र प्रेम गर्दछौ भने तिमीहरूले कनै इनाम पाउने छैनौ। महसूल उठाउनेहरूले पनि त्यसै गर्छन्। 47 अनि यदि तिमीहरू आफ्ना साथी-भाइहरूलाई मात्र अभिवादन गर्छौ भने अरू मानिसहरूसँग असल ठहर्नेछैनौ। अरू परमेश्वरलाई नजान्ने मानिसहरू पनि आफ्ना साथीभाइहरूसँग असल नै हुन्छन्। 48 यसैकारणले तिमीहरू सिद्ध होऊ, जसरी तिमीहरूका स्वर्गका पिता सिद्ध हुनुहुन्छ।

येशूद्वारा दान दिने बारे शिक्षा

6 “होशियार बस, जब तिमीहरू राम्रो काम गर्छौ, अरू मानिसहरूका उपस्थितिमा त्यस्ता देखावटीका निम्ति काम नगर। यदि त्यसो गर्यौ भने स्वर्गमा भएका तिम्रा पिताबाट तिमीहरूलाई केही इनाम मिल्नेछैन।

“जब तिमी दरीद्रहरूलाई सहायता दिन्छौ त्यसको विज्ञापन नगर कपटीहरूले जस्तो काम नगर। तिनीहरूले अरूले देखुन भनेर दरीद्रलाई सहायता गर्न अघिबाटै आफ्ना तुरही बजाउँछन्। तिनीहरूले सभाघरहरू र गल्लीहरूमा यसो गर्छन्। मानिसहरूबाट प्रशंसा पाउनलाई तिनीहरू यसो गर्दछन्। म तिमीहरूलाई साँच्चो भन्छु, यो नै ती सबै इनामहरू हुन् जो तिनीहरूले पाउने छन्। तर जब तिमी दरीद्रका निम्ति दान-पुण्य गर्दछौ, एकदमै गुप्त रुपले गर। तिमीले के गर्न लागि रहेका छौ भनेर कसैले चाल नपाओस्। तिम्रो दान-पुण्य गुप्त रूपमा होस्। गुप्त रुपमा गरेका तिम्रो दान-पुण्य तिम्रा पिताले अवश्यै देख्नु हुनेछ। तब तिम्रा पिताले, जसले गुप्तहरूपमा के गरिएको छ देखनुभएको छ र उहाँले तिमीलाई इनाम दिनुहुनेछ।

येशूद्वारा प्रार्थना बारे शिक्षा

“जब तिमी प्रार्थना गर्दछौ, तब कपटीहरूले जस्तो नगर। कपटीहरू सभाघरहरूमा र गल्लीहरूमा उभिएर अरूले देखून् भनी प्रार्थना गर्दछन्। म तिमीहरूलाई साँच्चो भन्दछु, यी सबैको इनाम तिनीहरूले पाइसकेका छन्। जब तिमी प्रार्थना गर्दछौ, तिमी आफ्नो भित्री कोठामा पसी ढोका बन्द गर। त्यसपछि तिमी आफ्ना पितासित गुप्तमा प्रार्थना गर। गुप्तरूपमा गरेको सबै कुरा तिम्रा पिताले देख्नुहुनेछ, र तिमीलाई उहाँले इनाम दिनुहुनेछ।

“जब तिमी प्रार्थना गर्दछौ, तब परमेश्वरलाई नजान्ने अरू मानिसहरूले जस्तो व्यवहार नगर्। तिनीहरू अर्थहीन कुरा गर्छन्। तिमीले त्यसप्रकारले प्रार्थना गर्नु हुँदैन। तिनीहरूले सोंचेका हुन्छन् परमेश्वरले तिनीहरूका कुरा सुन्नुहुनेछ भनी। त्यस्ता मानिसहरू जस्तो नहोऊ। तिमीहरूले पितासँग माग्नुभन्दा अघि नै तिमीहरूलाई कुन-कुन कुराको खाँचो छ, सो तिमीहरूका पिताले जान्नुहुन्छ। यसैले जतिबेला तिमी प्रार्थना गर्दछौ त्यसबेला यसरी प्रार्थना गर:

‘हे हाम्रा स्वर्गमा बस्नुहुने पिता,
    हामी प्रार्थना गर्दछौं तपाईंको नाउँ सधैँ पवित्र रहोस्।
10 हामी प्रार्थना गर्दछौं, तपाईंको राज्य आओस्,
    अनि तपाईंको इच्छा स्वर्गमा झैं यस पृथ्वीमा पूरा होस्।
11 आज दिनभरिको भोजन हामीलाई दिनुहोस्।
12 हाम्रा अपराधहरू क्षमा गरिदिनुहोस्।
    जसरी हामीले पनि आफ्ना अपराधीहरूलाई क्षमा गरेका छौं।
13 हामीलाई परीक्षामा पर्न नदिनुहोस्,
    तर हामीलाई दुष्टहरूबाट बँचाउनु होस्।’[b]

14 यदि, तिमीहरूले तिनीहरूको कसुर क्षमा गर्यौ भने तिमीहरूका स्वर्गमा बस्नुहुने पिताले पनि तिमीहरूलाई क्षमा गर्नुहुनेछ। 15 यदि तिमीहरूले मानिसहरूका दोष क्षमा गरेनौ भने स्वर्गमा बस्नुहुने तिमीहरूका पिताले पनि तिमीहरूका दोष क्षमा गर्नुहुनेछैन।

येशूद्वारा उपवास बारे शिक्षा

16 “जब तिमीहरू उपवास बस्छौ, तब कपटीहरू जस्ता उदासी नबन। कपटीहरूले जस्तो आचरण नगर। आफू उपवास बसेको कुरा मानिसहरूलाई देखाउन तिनीहरू आफ्नो मुखलाई अनौठो देखिने पार्छौ। म तिमीहरूलाई साँच्चो भन्दछु, ती कपटीहरूले पाउने सबै इनाम यही हो। तिमीहरूले इनाम पाइसकेकाछन्। 17 यसर्थ जब तिमीहरू उपवास बस्छौ, आफू राम्रो र असल भएर बस। आफ्नो मुख धोऊ। 18 तब मानिसहरूले तिमीहरू उपवास बसिरहेकाछौ भन्ने कुरा थाहा नपाऊन तर गुप्तमा भएका तिम्रा पिताले सबै कुराहरू देख्नुहुनेछ। अनि उहाँले नै इनाम दिनुहुनेछ।

धन-सम्पत्तिभन्दा परमेश्वर महान् हुनुहुन्छ

19 “आफ्नो निम्ति पृथ्वीमा सम्पत्ति नथुपार। जहाँ खीया र किराहरूले सम्पत्ति ध्वंस पारिदिनेछ। अनि चोरहरूले पनि तिम्रो घर फोरेर त्यहाँको सम्पत्ति चोर्छन्। 20 तर आफ्नो निम्ति स्वर्गमा धन-सम्पत्ति थुपार। स्वर्गमा भएको धन-सम्पत्ति खीया र किराहरूले नष्ट पार्न सक्दैन। चोरले पनि त्यहाँ पसेर चोर्न सक्दैन। 21 कारण जहाँ तिम्रो धन हुन्छ, त्यहीं तिम्रो मन पनि हुनेछ।

22 “तिम्रो शरीरको ज्योति आँखा हो। यदि तिम्रा आँखाहरू निर्मल छन् भने, तिम्रा सारा शरीर उज्यालो रहनेछ। 23 तर यदि तिम्रा आँखा खराब छन् भने, तिम्रो सम्पूर्ण शरीर अँध्यारो हुनेछ। यदि तिम्रो उज्यालो चाहिं अँध्यारो भयो भने, त्यो घनघोर अँध्यारो हुनेछ।

24 “कसैले पनि दुइ मालिकको सेवा एकै समयमा गर्न सक्दैन। उसले एउटालाई घृणा र अर्कोलाई प्रेम गर्नेछ। अथवा त्यो एउटासित झुक्नेछ, र अर्कोलाई तुच्छ गन्नेछ। यसैले एउटै समयमा एकै साथमा तिमीहरूले परमेश्वर र धनको चाकरी गर्न सक्दैनौ।

परमेश्वको राज्यमा पहिले आऊ

25 “यसैले म तिमीहरूलाई भन्दछु, बाँच्नलाई के खानु पर्ने भन्ने विषयमा तिमीहरू चिन्तित हुनु हुँदैन। तिमीलाई शरीको निम्ति चाहिने वस्त्रका विषयमा फिक्री नगर। खानेकुरा भन्दा जीवन धेरै मूल्यवान छ। अनि लुगाफाटा भन्दा शरीर धेरै मूल्यवान छ। 26 आकाशका चरा चुरुङ्गीलाई हेर, तिनीहरूले नता कहिले बीऊनै छर्छन्, न अन्नको फसल काट्छन् न भकारीहरूमा बटुल्छन्। तर तिमीहरू का स्वर्गका पिताले तिनीहरूलाई खुवाउनु हुन्छ। तर तिमीहरूलाई थाहा छ ती चराचरुङ्गीहरू भन्दा तिमीहरू बहुमूल्य छौ। 27 फिक्री मात्र गरेर कसैले पनि आफ्नो आयुमा केही समय बढाउन सक्दैन।

28 “अनि लुगाफाटाको निम्ति तिमीहरू किन फिक्री गर्छौ? बगैँचाको फूलहरूको विचार गर, ती कसरी बढ्छन्। तिनीहरू न ता आफ्नो लागि परिश्रम गर्दछन्, न ता वस्त्रका निम्ति धागो कात्दछन्। 29 तर पनि म तिमीहरूलाई भन्दछु, महान अनि धनी राजा सुलेमान समेतले यी फूलहरू मध्ये एउटा जत्ति पनि सिंगारिएका थिएनन्। 30 यस प्रकार परमेश्वरले जमीनमा झारपात उमारेर सजाउँनु हुन्छ। ती आज देखिन्छ भोलि आगोमा फ्याँकिनेछ र जलाइनेछन्। यसकारण परमेश्वरले नै तिमीहरूलाई अझ राम्ररी लुगाफाटा पहिराइदिनु हुनेछैन र? अल्पविश्वासी हो।

31 “यसर्थ फिक्री गर्दै यसो नभन, ‘हामी के खाउँला?’ ‘के पिउँला?’ वा हामी ‘के लगाउँला?’ 32 परमेश्वरमा विश्वास नगर्नेहरूले मात्रै यी कुराहरू पाउने इच्छा गर्दछन्। यसकारण फिक्री नगर, किनभने स्वर्गमा बस्नुहुने पिताले तिमीहरूलाई यी सबै थोकको आवश्यक छ भनी जान्नुहुन्छ। 33 तिमीहरू अरू थोकभन्दा परमेश्वरको राज्य र उहाँको धार्मिकताको विषयमा इच्छा गर। तब उहाँले तिमीहरूलाई तिमीहरूले चाहेका यी जम्मै कुराहरू दिनुहुनेछ, 34 जसद्वारा भोलिको निम्ति तिमीहरूले त्यत्ति फिक्री गर्नु पर्ने छैन, प्रत्येक दिनमा आ-आफ्नै समस्या हुन्छ। भोलिको दिनको पनि आफ्नै समस्याहरू छन्।

मत्ती 6

जे चाहन्छौ परमेश्वरलाई माग

“माँग, तब परमेश्वरले तिमीहरूलाई दिनुहुनेछ। खोजी गर तब तिमीहरूले पाउनेछौ। ढक्ढकाऊ, तब ढोका तिमीहरूको लागि उघ्रनेछ। साँच्चो हो, जसले माग्छ त्यसले पाउँदछ। जसले खोज्दछ उसले भेट्टाउँदछ। अनि जसले ढक्ढक्याउँछ उसको निम्ति ढोका खोलिनेछ।

“तिमीहरूमध्येको बाबु होला? यदि तिमीहरूको छोरोले रोटी मागे, के तिमीहरू उसलाई ढुङ्गा दिन्छौ? अँहँ। 10 अथवा, जब तिम्रो छोरोले माछा माग्छ भने के तिमीले उसलाई सर्प दिन्छौ? अँहँ! 11 तिमी परमेश्वर झैं होइनौ-तिमी दुष्ट हौ र पनि तिमीहरूका छोरा-छोरीहरूलाई असल कुराहरू दिन जान्दछौ। यसकारण तिमीहरूका पिताले उहाँसित माग्नेहरूलाई कति बढी भरेर असल चीजहरू दिनु हुनुहुनेछ।

प्रमुख नियम

12 “अरू मानिसहरूले तिमीहरूलाई जे जसो गरून् भन्ने तिमीहरू चाहन्छौ, तिमीहरूले पनि तिमीहरूलाई त्यसै गर। यहीनै मोशाको व्यवस्थाको अर्थ र अगमवक्ताहरूको उपदेश हो।

स्वर्ग र नर्कको बाटो

13 “साँघुरो ढोकाबाट भित्र पस, जसले स्वर्गमा पुर्याउँछ। नर्कमा जाने बाटो एकदमै सजिलो छ। अनि ढोका पनि फराकिलो छ। धेरै मानिसहरू त्यसबाट भित्र पस्दछन्। 14 जीवनको बाटोमा लाने ढोका साँघुरो छ अनि बाटो अति कठिन छ। केवल केही मानिसहरूले मात्र त्यो बाटो पैलाउन सक्छन्।

अरूहरू जे गर्दछन् त्यो हेर्नु

15 “झूटा अगमवक्ताहरूबाट होशियार बस। तिनीहरू भेंडा़, का भेषमा तिमीहरूकहाँ आउँछन्। तर वास्तावमा तिनीहरू खतरनाक ब्वाँसाहरू झैं हुन्छन्। 16 तिनीहरूले गरेका कामहरूबाट तिनीहरूलाई चिन्न सकिन्छ। जसरी मानिसले काँडाका बोटबाट अंगूर अथवा काँडादार पोथ्राबाट नेभारा पाउन सकिंदैन। त्यसरी नै नराम्रो मानिसहरूबाट राम्रा कामहरू हुँदैनन्। 17 त्यसरी नै, प्रत्येक असल रूखले राम्रो फल दिन्छ। अनि नराम्रो रूखले नराम्रै फल दिन्छ। 18 एउटा असल रूखले खराब फल फलाउँदैन अनि नराम्रो रूखले कहिल्यै असल फल फलाउँदैन।” 19 असल फल दिन नसक्ने प्रत्येक रूख काटेर ढालिन्छ र आगोमा फालिन्छ। 20 यसकारण तिनीहरूका कर्मबाट तिमीहरूले झूटा अगमवक्ताहरूलाई चिन्नेछौ।

21 “मलाई प्रभु, प्रभु, भन्ने हरेक मानिस स्वर्गको राज्यमा प्रवेश गर्न पाउनेछैन। तर जसले स्वर्गमा हुनुहुने मेरो पिताको इच्छा पालन गर्छ। उसले स्वर्गको राज्यमा प्रवेश गर्न पाउनेछ। 22 अन्तिम दिनमा धेरैले मलाई भन्नेछन्, ‘तपाईं नै हाम्रा प्रभु हुनुहुन्छ। हामीले तपाईंकै नाउँमा अगमवाणी बोल्यौ; अनि तपाईंकै नाउँमा हामीले ती दुष्टहरूलाई निकाली पठायौं अनि अनेक अनौठा चमत्काहहरू गर्यौ।’ 23 तब म तिनीहरूलाई स्पष्ट रूपले भन्नेछु, ‘तिमी त्यो पाप काम गर्नेहरू म देखि टाढा होओ मैले तिमीहरूलाई कहिल्यै चिनेको छैन।’

बुद्धिमान र मूर्ख मानिसहरू

24 “हरेक मानिस जसले मैले भनेका यी कुराहरू सुन्छ र पालन गर्छ उनै बुद्धिमान हो। बुद्धिमान मानिसले आफ्नो घर चट्टानमाथि निर्माण गरेको छ। 25 त्यहाँ घनघोर पानी पर्यो अनि बाढी आयो। तुफान हुरीले त्यो घरलाई हान्यो। तर पनि त्यो घर ढलेन। किनकि त्यो घर चट्टानमाथि निर्माण गरिएको थियो।

26 “तर प्रत्येक मानिस जसले मेरा कुरा सुन्छ तर मेरो अनुशरण गर्दैन, त्यो एउटा मूर्ख मानिस जस्तै हो। उसले आफ्नो घर बालुनामाथि बनायो। 27 अति बृष्टिको कारणले बाढी आयो, आँधीले घरलाई हान्यो र त्यो ठूलो आवाज सहित ढल्यो।”

28 येशूले उपदेश दिनु भएको सुनेर मानिसहरू छक्क परे। 29 किनभने येशूले तिनीहरूका व्यवस्थाको शास्त्रीहरूले झैं सिकाउनु भएन। तर अख्तियार भएको मानिसले जस्तो सिकाउनु भयो।

मत्ती 7